images
images

इन्द्रावती ८ मा गोले झाँक्रीको शालिक अनावरण

ज्यामिरेमाने ।
इन्द्रावती गाउँपालिका ८ मा निर्माण भएको गोले बोन्पो (गोले झाँक्री) को पूर्णकदको शालिक अनावरण तथा उद्घाटन सम्पन्न भएको छ । जनै पूर्णिमा रक्षा बन्धनको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल को प्रमुख अतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच आज शालिक अनावरण तथा उद्घाटन गरिएको हो ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक महत्त्वसँग जोडिएका धेरै ठाउँहरू रहेको बताउँदै धार्मिक स्थलको हिसाबले निकै पुरानो सभ्यता भएको उनको भनाइ थियो। कला साहित्य धर्म संस्कृति सबैको संरक्षण र सम्बर्धन गर्नु गाउँपालिकाको दायित्व भएकोले धेरै ठाउँहरूमा विभिन्न धार्मिक महत्त्व बोकेका संरचना हरूको निर्माण गरेको उहाँले जानकारी दिए।

images
images

साथै आज अनावरण गरिएको शालिकको प्रचार र संरक्षणमा पनि स्थानीय तहको भूमिका हुने बताउँदै यसले गाउँपालिकाको धार्मिक पर्यटनको विकासमा पनि महत्वपूर्ण योगदान र भूमिका निर्वाह गर्ने बताए । गोले बोन्पो (गोले झाँक्री) को शालिक अनावरण गर्दै उहाँले यस्ता संरचनाहरू गाउँपालिकाका विभिन्न स्थानमा बनेको र त्यसको संरक्षणमा गाउँपालिकाले मात्रै नभई स्थानीय समुदाय तथा समाजले पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि गोली तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले गोले बोन्पो (गोले झाँक्री) को गौरवशाली शालिक उद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित महसुस भएको धारणा राखे । गोले वंशको पहिचान र इतिहासको बारेमा बताउँदै अब हरेक वर्ष यही दिन यही स्थानको अवलोकनका लागि संसारभरिका गोलेहरू आउनेगरी संरचनाहरू तयार पार्न जरुरी रहेको बताए । साथै गोले झाँक्रीको शालिक रहेको स्थानमा अन्य संरचनाहरू बनाउन बाँकी नै रहेकाले शालिकको वरिपरी रेलिङ र छत लगाउनका लागि गोले तामाङ वंश उत्थान समाज ले १ लाख ४४ हजार रूपैयाँ बराबरको रकम सहयोग समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष वंशलाल तामाङले इन्द्रावती भेग ऐतिहासिक रूपमै चर्चित र महत्त्वपूर्ण रहेको बताए। पुर्खाहरूका अनुसार यो भेगलाई सात सय सिपा नाै सय ह्योल्मो रुपमा परिचित रहेको र पछि क्रुर शासकहरुले ती धार्मिक र सांस्कृतिक धरोहर नष्ट पारिएको बताउँदै ती इतिहासलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने बताए । अहिलेको समाज विकासको क्रममा अनुहार र पेशा हेरेर जाति छुट्याउन नसक्ने बताउँदै यस्तै ऐतिहासिक धरोहरहरू नै हाम्रो चिनारी भएको धारणा राखे। मानव शरीर मरेर गए पनि यस्ता धरोहरहरू जीवित रहने उनको भनाइ थियो। त्यसैले यस्ता संरचना निर्माण गर्न र निर्माण पछि संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। साथै यस स्थानमा निर्माण भएको गोले झाँक्रीको शालिक अनावरणको अवसरमा आफूलाई निमन्त्रण गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्दै सबैमा जनै पूर्णिमा, रक्षाबन्धन तथा गोले ङ्ह्याको शुभकामना समेत व्यक्त गरे ।

इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभाना तामाङले आफ्नो पहिचान झल्काउने काम सबैले गर्नुपर्ने बताउँदै यसले लक्षित जातजातिलाई मात्रै नभई गाउँपालिकालाई नै चिनाउन मद्दत पुग्ने धारणा राखे । साथै यस स्थानको यो संरचना निर्माणबाट सबैले सिकेर अन्य वडाहरूमा पनि यस्ता विशेष संरचनाहरू पहिचान झल्काउने गरी बनाउन आवश्यक रहेको बताए ।

गोले तामाङ वंश उत्थान समाजका उपाध्यक्ष हर्क गोलेले यस स्थानलाई संसारभरका गोलेहरू आएर गोले झाँक्रीको शालिकलाई दर्शन गर्न आउने गरी प्रचारप्रसार तथा संरचनाहरू बनाउन आवश्यक रहेको बताए । साथै यस स्थानलाई गोलेवंश तथा तामाङहरूको तीर्थस्थलाको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । यसले आन्तरिक पर्यटनमा पनि टेवा पुग्ने उनको धारणा थियो ।

वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले वडा सदस्यहरूको सल्लाह बमोजिम यो संरचना बनेको र यसले यहाँका तामाङ समुदाय हरुलाई जोड्न सफल भएको बताए । साथै यहाँ अन्य संरचनाहरू निर्माण गर्न बाँकी नै रहेको र पर्यटन विकासका लागि यसले सहयोग गर्ने बताउनुभयो । यस कुरामा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै सहयोगको अपेक्षा पनि गरे ।

वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले तामाङको बाहुल्यता रहेको इन्द्रावतीमा तामाङको संस्कृति संरक्षण गर्न जरुरी बताउँदै इन्द्रावती ८ मा बनेको यो संरचना यसको एउटा प्रयास भएको उनकोभनाइ छ । साथै यसरी बनेका संरचनाहरूको संरक्षण र संबर्धनमा स्थानीय तहसँगै समाजको र समुदायको पनि उत्तिकै भुमिका रहेको बताए ।

वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खातीले देश धर्मनिरपेक्षता भएका कारण सबै भाषा धर्मले समान विकासको अवसर पाएको र यसको उपयोग गर्दै यहाँ गोले झाँक्रीको सालिक बनाउन सफल भएको धारणा राखे ।

नेपाल तामाङ घेदुङका उपाध्यक्ष तथा गोले समाजका सीता गोलेले तामाङ भएर आफ्नो भाषा बोल्न नसक्नु तथा आफ्नो भाषा बोल्न लाज मान्नु दुखको कुरा रहेको बताए । साथै भाषा आफ्नो पहिचान भएकोले यसलाई बोल्न सक्नुपर्ने र बोल्न हिच्किचाउन नहुने धारणा राखे ।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन कुमार थापामगरले यस स्थानमा अझ भौतिक संरचना थप गरि पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । विभिन्न जातजातिको श्रद्धाको भाव आभास गर्न पनि यस्ता संरचनाहरु निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

नेकपा एमाले गाउँपालिका कमिटीका उपाध्यक्ष प्रकाश मैनालीले यसरी बनेका संरचनाहरूको नेकपा एमालेले संरक्षणमा साथ दिने धारणा राखे ।

नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कमिटी सचिव केदारनाथ आचार्यले पूर्व जनप्रतिनिधिहरूको कार्यकालमै सुरु भएको उक्त काम अहिले सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै आयोजक ज्यामिरे माने सिमबारी खर्क टोल विकास संस्थाका अध्यक्ष दयाराम तामाङले अझै संरचनाहरू बन्न बाँकी रहेकोले यसमा स्थानीय सरकार तथा अन्य निकायहरू बाट सहयोगको अपेक्षा गर्दै कार्यक्रममा उपस्थित हुनुभएका सबैमा आभार व्यक्त गरे ।।

प्रतिक्रिया दिनुहोस्